२८ चैत, काठमाण्डौ । एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ । एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।
एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयलाई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए ।
एकता प्रक्रिया टुंग्याएर मात्रै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा निस्किने भनेपछि दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए ।
तर, चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन । अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बसेर टुंग्याउन दुवै दल सहमत भए ।
प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि डाकिएको मंगलबारको बैठक स्थगित भएको छ । दुवै पार्टीका शर्ष नेताको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।
अर्को बैठक बुधबार डाकिएको छ । तर, अडानमा दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले सहमति जुट्ने अवस्था कम छ ।-नयाँपत्रिकावाट