१२ आश्विन २०८१, शनिबार

माओवादीे केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदै


माओवादीे राष्ट्रिय सम्मेलन

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आइतबारदेखि शुरु हुँदैछ ।

सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसिएलले विभिन्न स्वागतद्वार बनाएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् ।

यस्तै, राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको वाइसिएलले जनाएको छ । यद्यपि, माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आज आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्दैछ ।

जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युुनिष्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ ।

शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने बताएका थिए ।

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् ।

प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफँै खाने बस्ने प्रबन्ध गर्न भनेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल शुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) ले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरुपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई शुक्रबारको बैठकले नै दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !