काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।
दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालद्वारा प्रस्तुत विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रतिनिधिसभा आजको बैठकमा पनि अवरोध कायमै राखेको थियो । बैठक शुरु हुनेबित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् ।
एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि डाकिएको छ ।