काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले शुरूआतदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान २६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेको समितिले जनाएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना शुरु गरिएको हो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।