१२ आश्विन २०८१, शनिबार

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री देउवाद्वारा सम्बोधन


अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । आज भर्चुअल माध्यमवाट भएको प्रजातान्त्रिक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले पनि भाग लिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा सहभागी हुन पाउँदा आफूलाई गौरव लागेको बताएका छन् । प्रधानमन्त्री देउवाले लोकतन्त्र, लोकतान्त्रिक रूपान्तरण र सिकेका पाठहरूमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेको पनि बताएका छन् ।

भर्चुअल माध्यमबाट भएको शिखर सम्मेलनमा देउवाले नेपालले लोकतन्त्र, मानवअधिकार र महिला अधिकार रक्षाका लागि चालेका कदमबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति मुलुकका तर्फबाट प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै देउवाले लामो समयदेखि टुंगिन नसकेको संक्रमणकालीन न्यायका मुद्दा चाँडै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । लोकतन्त्रको सान्दर्भिकता र महत्वका अतिरिक्त सुशासन र कानुनी शासनका लागि नेपालमा भइरहेका प्रयासबारे पनि देउवाले धारणा राखेका छन् ।

अमेरिकी राष्ट्रपतिले बाइडेनले सम्बोधन गरेपछि सहभागी देशका अन्य प्रतिनिधिले समिटलाई सम्बोधन गरेका छन् । सो सम्मेलनमा संसारका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरुले सहभागिता रहेको छ ।

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेका थिए । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन । बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेका हुन् ।

केही समयअघि नेपाल भ्रमणमा आएको बेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा उक्त सम्मेलनको लागि बाइडेनको तर्फबाट निम्तो दिएका थिए । जवाफमा देउवाले आफू उक्त सम्मेलनमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !