२५ चैत, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ ।
राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्नुभएको हो ।
सन् २००६ देखि नेपालमा शुरु भएको राजनीतिक परिवर्तनको श्रृङ्खला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण भएको उहाँको भनाइ छ ।
भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
दुई देशबीच रहेको आपसी सरोकार तथा चासोका सबै विषयमा खुला र स्पष्ट तवरले छलफल भएको र त्यसले सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा भारत सरकारले उपलब्ध गराएको आतिथ्यता, भारतको राष्ट्रिय पाहुनाका रुपमा गरेको सम्मान तथा दुई देशका साझा चासोका विषयमा खुलेर भएका छलफलले सम्बन्धलाई नयाँ आधारमा परिभाषित गरेको सहजै अनुमान गर्न सकिन्छ ।
भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्ठित मुलुकले पाउने समुन्द्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जलयातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको छ ।
सगरमाथादेखि सागरसम्मको सहज पहुँचलाई जसरी भारतले सम्बोधन गरेको छ, त्यसले नेपाल अब भूपरिवेष्टित होइन, भूमि जोडिएको तर पहुँच र सम्पर्क विस्तारका हिसाबले पनि थप सहज मुलुकका रुपमा समेत परिभाषित भएको छ ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, खुला सीमाको व्यवस्थापन गर्ने विषय पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
कृषिका आधुनिकीकरण र रुपान्तरणका विषय, रक्सौलदेखि काठमाडौँ जोड्ने रेल सञ्जालको विस्तार तथा नेपालले वर्षौंदेखि प्रयास गरिरहेको जलमार्गसम्बन्धी विषय पनि प्रभावकारीरुपमा उठाइएको छ ।-रिपोर्टर्स नेपाल