७ मंसिर २०८१, शुक्रबार

देउवा सरकारद्वारा एकैपटक १० सचिवको सरुवा, को कहाँ पुगे ?


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले १० जना सचिवको एकैपटक सरुवा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी ल्याइएको छ । उनले यसअघि सो मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै शिक्षा मन्त्रालयका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा ल्याइएको छ भने शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !