१५ असार २०८१, शनिबार

मोदीसँग ओलीले अहिले हामी सरकारमा छौं, अब भारतको विरोध गर्दैनौं भनेर भन्नुहुन्छ : डा. महत


doctor prakash

२० चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपाल–भारतबीच धेरै आयामहरु भएको स्पष्ट पारे ।

उनले थपे,‘हामीबीच खुल्ला सिमाना छन्, हामी बिना परिचपयत्र नै आवतजावत गर्छौं ।’ नेपालीहरु रोजगारीको सिलसिलामा भारतमा कार्यरत रहेको र धेरै भारतीयहरुपनि नेपालमा कार्यरत रहेको उनको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाए ।

उनले भने,‘अब हामीले यी सन्धि तथा सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ, चाँडोभन्दा चाँडो भएका सम्झौताहरुलाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्छ ।’

डा. महतले प्रधानमन्त्रीको ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको सुनाए । उनले भने,‘हामीले उहाँको भ्रमण सफल होस भनेर चाहेका छौं, अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि गतिरोध छैन्, सबै गतिरोध अन्त्य भैसकेका छन् ।’

नेता महतले अघि भने,‘भ्रमणमा प्रधानमन्त्री ओलीले सत्तामा नहुँदा हामीले यस्तो बोलेको हो अब सत्तामा आयौं हामी अब विरुद्धमा बोल्दैनौं भनेर भन्नुहुन्छ होला।’ उनले नेपालले आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्नुपर्ने सुझाए ।

नेपालले भारतीय र चीनीयाँ दुवै राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्न सक्नुपर्ने महतको भनाई थियो । नेपालमा वर्षेनि हुने डुबानका समस्या समाधान गर्न समझदारी भएकोले अब कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने महतले बताए ।

नेपाल–भारतबीच हुने व्यापार तथा पारवाहनमा अवरोध र झमेला हुन नहुने उनको धारणा छ । त्यस्तै उनले नेपालको भुकम्पपछिको पूर्ननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले ऋण तथा अनुदान दिने प्रतिबद्धता जनाएकोले अब त्यो लिने कुरामा नेपाली संयन्त्रले पनि तदारुकताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बतए ।

विद्युतमा भारतको धेरै ठूलो लगानी रहेको सुनाउँदै उनले निर्वाध रुपमा व्यापार हुने कुरामा दुवै देशबीच समान दृष्टिकोण हुनुपर्ने उनको भनाई थियो । नेपालमा धेरै खोलानालाहरु भएकोले हाई–ड्याम्पबाट जम्मा भएको पानी हिउँदमा भारत पठाउने र त्यसवाट निश्चित रिटर्न लिन सक्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे विज्ञहरुले काम गरिरहेकोले यो विषयमा छलफल गर्नुको केही अर्थ नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !