१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘पार्टी एकता र भारत भ्रमणवीच कुनै सम्बन्ध छैन’


kp-oli

१९ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँगको पार्टी एकता र आफ्नो भारत भ्रमणवीच कुनै सम्बन्ध नरहेको बताएका छन् ।

एमाले प्रचार विभागले काठमाण्डौमा आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी एकताबारे आएका हल्लाहरूको पछि नलाग्न पनि आग्रह गरेका छन् । उनले भने, ‘पार्टी एकताबारे केही हल्लाहरू आएका छन्, तपाईहरू यसको पछि नलाग्नुस् पार्टी एकता हुन्छ ।

चैत २३ गते हुन लागेको भारत भ्रमण र पार्टी एकताबारे कुनै सम्बन्ध नरहेको बताउँदै उनले भने, ‘काम पूरा भए अघि नै गर्छौं, पूरा नभए पछि हुन्छ ।’ पार्टी एकतामा हतार नगरिने र ढिलासुस्ती पनि नगर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले भने, ‘हतार र ढिलासुस्ती दुवै गर्ने कुरा होइन, हतार गरेर नि बिग्रिन्छ ढिला गरेपनि बिग्रिन्छ । यो प्रक्रियाले हुने कुरा हो ।’ पार्टी एकता देशको विकास र लोकतन्त्रको सुदृढीकरण गर्न हुन गइरहेको उनको भनाइ थियो ।

उनले अब बन्ने पार्टीले र सरकारले समावादउन्मुख विकासलाई जोड दिने दाबी गरे । नयाँ बन्ने पार्टीले समाजवाद उन्मुख विकास गर्ने बताउँदा केही व्यक्ति र राजनीतिक दलहरूमा आशंका पैदा भएको उनको भनाइ थियो ।

उनले भने, ‘समाजवाद उन्मुख विकास भन्दा कोही कोही साथीहरू अब गरिबले खान पाउने भए भनेर अत्तालिएका छन् । नेपालमा ३६ प्रतिशत जनसंखया अझै पनि गरिबीको रेखामुनि छ । यसलाई शून्यमा पुर्‍याउने भए भन्ने ठानेर अत्तालिएका हुन् ।’

उनको प्रश्न थियो, ‘गरिबहरूले धनीसमान गाडी चढेर हिँढ्न नहुने ?’ उनले सरकारले उत्पादनको वृद्धि र समानुपातिक वितरण गर्ने बताए । एमाले प्रचार विभागले प्रदान गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वरीष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !