६ जेष्ठ २०८१, आइतबार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।

हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी-पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

शनिबार वडा अधिवेशन सुरु हुने कार्यतालिका रहेका बेला स्थायी कमिटी बैठक बस्न लागेको हो । तर, बाढीपहिरोको चपेटामा परेका वडाको अधिवेशन सारिने भएकाे हाे ।

आज बस्ने बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेकाे छ । याे कार्यदलकाे बैठक बिहीबार पनि बसेकाे थियाे ।

रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने अस्वीकार गर्छन् । उनले एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरे ।

बिहीबारकाे स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको दाबी गरेका थिए ।

१० बुँदे समझदारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि प्रकट गरेपछि विवाद फेरि बल्झिएर सतहमा देखिएको छ ।

बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गत असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको भन्दै १० बुँदेको एकतारे नबजाउन भनेर अभिव्यक्ति दिएपछि रावल र भुसालले असन्तुष्टि जनाएका छन् ।

रावल लगायत नेताहरूले १० बुँदे कार्यान्वयन हुनुपर्ने बताइरहेका बेला ओलीले अब १० बुँदेको एकतारे नबजाउन भनेका हुन् । ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्योबेला १० बुँदे गरिएको पनि बताएका थिए ।

यो पनि पढ्नुहोस्

एमाले बैठक जारी, असन्तुष्ट पक्षले १० बुँदे कार्यान्वयनको विषय उठाउने

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु