११ श्रावण २०८१, शुक्रबार

बालुवाटारमा प्रहरी र प्रदर्शनकारीबीच झडप


madhesi andolan baluwataar

काठमाडौँः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।

संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि आज बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको बताएका छन् ।

प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र सो क्रममा एक प्रहरी सामान्य घाइते भएको बताएको छ । प्रहरीसँगको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल सङ्घीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिनुभयो ।

गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै आज बिहान १० बजेदेखि बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो ।

गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि सो क्षेत्रको यातायात अवरुद्ध बनेको छ । यातायात अवरुद्ध भएका कारण यात्रु हिँडेर गन्तव्यमा जान बाध्य भएका छन् ।

आन्दोलनकारीलाई बालुवाटार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । धर्नामा बसेका आन्दोलनकारीले ‘पहिचानसहितको सङ्घीयता छोड्दैनौँ’, ‘आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर’ लगायत नारा लगाइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेसकेन्द्रित र अन्य केही साना दलले आन्दोलन गर्दै आएका छन् । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !