१४ बैशाख २०८१, शुक्रबार

देउवा सरकारको मन्त्रिमण्डलले भोलि शुक्रबार पूर्णता पाउने


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डलले भोलि शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । आजै मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै आज बिहीबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

यसरी सत्तारुढ गठबन्धनका दलहरूको आन्तरिक तयारी नपुगेकोले भोलि शुक्रबार मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।

यसअघि गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन निस्केका छन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) लाई कम मन्त्रालय दिएको भन्दै पार्टीभित्र चरम असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तातेर मन्त्रिपरिषद विस्तारको तयारी गरिरहँदा देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वर्तमान सत्ता गठबन्धनकै दल एकीकृत समाजवादी पार्टीभित्र आफ्ना भागमा कम मन्त्रालय परेपछि असन्तुष्टि चुलिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !