१२ बैशाख २०८१, बुधबार

आन्दोलनका-नाममा जनताले सास्ती पाउने काम सरकारले सहन्नः प्रधानमन्त्री


kp_oli42

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्।

मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्।

‘शान्तिपूर्ण ढंगले गर्न पाउनुहुन्छ गर्नुस् तर तोडफोड नगर्नुस्, तोडफोड, हिंसा र झडपतर्फ लैजाने प्रयास भएको मैले देखेको छु त्यो नगर्नुस्’ उनले भने ‘सडकमा उभिने हक छ। तर मन लाग्यो भनेर दुई चार जना मान्छे आयो ट्राफिक जाम गर्‍यो। यो तमासा धेरै चल्दैन।’

मधेसमा आन्दोलनरत दलहरुले आइतबारदेखि सिंहदरबार घेराउ गर्न थालेपछि प्रधानमन्त्रीले यस्तो अभिब्यक्ति दिएका हुन्। पहिले मधेसमा आन्दोलन गरेकाहरुलाई त्यहाँका जनताले बहिस्कार गरेपछि काठमाडौं आएका ओलीले आरोप लगाए।

उनले जायज माग भए लिएर आउन आग्रह गर्दै सरकार समाधान गर्न तयार रहेको बताए। ‘जायज कुरा रहेछन् भने मान्ने नि किन नमान्ने? प्रधानमन्त्रीले प्रश्न गरे ‘देशको हितको पक्षमा, जनताको हितको पक्षमा कुनै कुरा छ भने मान्ने। जायज कुरा छन् भने किन कुरा गर्न आउन नसक्ने?’

आन्दोलनरत पक्षले राखेको संविधान पुनर्लेखनको मागभित्र ठूलो षड्यन्त्र र कपट रहेको प्रधानमन्त्रीले बताए। संविधान जारी गरेर संविधानसभा भंग भइसकेको अवस्थामा संविधान संशोधन मात्र हुन सक्ने भन्दै उनले हुनै नसक्ने माग राख्नु षड्यन्त्रपूर्ण भएको बताएका हुन्। ‘यसमा ठूलो कपट छ, ठूलो षड्यन्त्र छ। संविधानसभालाई अपमान गर्ने कुरा हो।’

उनले आन्दोलनरत दलहरुलाई ‘नेपालीले भनेको नमान्ने भए कसले भनेको मान्ने?’ भन्दै प्रश्न गरे।

प्रधानमन्त्रीले आन्दोलनमा लाग्नुभन्दा स्वयंसेवक भएर पुनर्निर्माणमा लाग्न आन्दोलनरत दलहरुलाई आग्रह गरे। विनासित्ति तमासा गरेर जाम गर्नुभन्दा यत्रो स्वयंसेवक चाहिएको छ,भत्काउने तोडफोड गर्ने होइन बनाउनेमा पनि जाऔं’ उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !