१५ आश्विन २०८१, मंगलबार

भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो : प्रधानमन्त्री ओली


kp oli

१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ ।

यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको स्पष्ट गर्दै उहाँले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताउनुभयो ।

कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै उहाँले समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

“विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कुनै पनि गुह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !