जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको बताएका छन् ।
जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेर एमसीसीलाई बिगारेको आरोप लगाएका हुन् ।
उनले भने, ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो ओरिजिनल थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो ।’
यस्तै एमसीसीलाई अमेरिकाका केही मन्त्रीहरुले आफ्नो डकुमेन्टमा ईन्डो प्यासिफिक स्ट्राटेजीको अंग भनेपछि विवाद झन् चर्किएको उनले बताए । उनले एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउदै हतार गर्न नहुने उनले बताए ।
उनले भने, ‘अझ केपी ओलीको पालामा परराष्ट्रमन्त्री अमेरिका गएको बेलामा एउटा डकुमेन्ट के घोषणा भयो भने, आईपीएसको मेम्बर भएको घोषणा भएसँगै जनतामा गम्भीर किसिमको सवाल पैदा भएको छ, त्यसैले यी गलत ढंगबाट भएको घोषणा, पैसा र विकासको नाममा जे पनि लिन सकिँदैन, त्यसैले संशोधन र परिमार्जन भयो भने फेरि एमसीसी स्वीकार गर्न सकिन्छ ।’