६ पुस २०८१, शनिबार

५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । आज शुक्रबार विहान ९ वजे बालुवाटारमा बस्न लागेको बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

मुख्य रुपमा बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदवाट कसरी पास गर्ने भन्ने बारेमा छलफल केन्द्रित हुने बुझिएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेटघाटलाई तीव्रता दिएकी छन् ।

हिजो विहीबार पनि सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको छलफलमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा भएको थियो । साथै हिजोको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा विचार विमर्श समेत भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको बताइन्छ ।

हिजोको बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी पुगेका थिए । सोही कारण हिजो भएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन् ।

सरकार बनेको २ महिना पुग्नै लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लेलाई पूर्णता दिन सकेका छैनन् । यस्तै संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएर खटपट समेत उत्पन्न भएको छ । सत्ता गठबन्धनका काँग्रेस र जसपा संसदवाट एमसीसी जसरी भएपनि पास गर्ने पक्षमा देखिएका छन् भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) विपक्षी देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !