७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान


प्रभुराम शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिनुभयो । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उहाँलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गर्नुभएको हो ।

नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नुहुनेछ । उहाँको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालिम र आर्थिक पारदर्शीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसक्नुभएको छ । उहाँका सम्मानमा सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोहको आयोजना हुनेछ ।

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाईल्याण्ड र पाकिस्तानबाट प्रतीरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गर्नुभएको छ । युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्र संघको शान्ति मिशन अन्तरगत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माको सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताबाट संगठनले भरपुर लाभ लिनेछ । सेनाको तिन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उहाँको प्रमुख कार्यभार रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !