१९ असार २०८१, बुधबार

देउवाका छोरा जयवीर राजनीतिमा आए, क्रियाशिल सदस्यता प्रदान


शेरबहादुर देउबा, जयवीर देउवा र आरजु राणा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई काँग्रेसको क्रियाशिल सदस्यता प्रदान गरिएसंगै उनी सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । उनले देउवाको जिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका-१ बाट जयवीरसिंहले क्रियाशील सदस्यता लिएका छन् । सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाइएको छ ।

क्रियाशील सदस्यता वितरणमा सभापति देउवा र पत्नी आरजु राणा काठमाडौंमा सक्रिय भएपछि उनीहरुको जिल्ला डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ । काँग्रेसले आइतबार सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद बढेको हो ।

सभापति देउवाले काठमाडौंबाटै कैयौँ क्रियाशील सदस्यताको नामावली हटाइदिएका छन् भने केही थप गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेतृत्वको दाबीमा रहेका नेता शेखर कोइरालाले आज बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर देउवाको चर्को गरेका छन् । कोइरालाका अनुसार ४६० जनाको नामावली हटाइएको छ ।

काठमाडौंबाट देउवाले छोरा जयवीर देउवासहित ३१२ जनाको नामावली थप गरिदिएतापनि थपिएको नाम जानकारी डडेल्धुराका जिल्ला सभापतिलाई समेत जानकारी गराइएको छैन । केन्द्रबाटै खटिएका निर्वाचन अधिकृतले नामावली सार्वजनिक गरेर २५ गते वडा अधिवेशन सुरु गर्ने तयारी गरेपछि विवाद झनै बढेको हो ।

सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौँ जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ । विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको नाम काटेर विपक्षमा चुनाव लडेकाहरुलाई क्रियाशील सदस्य बनाइएको छ । १६ वर्ष कांग्रेसको वडा सभापति भएका व्यक्तिलाई क्रियाशील सदस्यताबाट हटाएपछि कांग्रेसमा विवाद बढेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !