१० माघ २०८१, बिहीबार

पार्टीको प्रचार र विपक्षीमाथि प्रतिवाद गर्न कांग्रेसले बनायो ‘वार रुम’


नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सामाजिक सञ्जालमा पार्टीको प्रचार तथा विपक्षीमाथि प्रतिवाद गर्न ‘वार रुम’ गठन गरेको छ । सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकले ‘वार रुप’ बनाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा संयोजक रहेको विभागले कांग्रेसका विषयमा व्यापक सूचना प्रणालीभित्र राख्न एनसी विन गठन गरेको छ । विभागले कांग्रेस विनको दीर्घकालीन काम भने पार्टीको विभिन्न तहलाई प्रविधि मार्फतको सहजीकरण र सामाजिक सञ्जालमार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहने भन्ने छ ।

विभागले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रचारका लागि ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त बैठकले कांग्रेसको महाधिवेशनको प्रचारका लागि नारा पनि तय गरेको छ । ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’भन्ने नारा तय भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ काँग्रेसले जारी गरेको विज्ञप्ति

भाद्र २२, २०७८
१४ औं महाधिवेशनको प्रचारात्मक नारा तय । ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत NC WIN गठन । महाधिवेशन पूर्व सन्ध्यामा विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय ।
नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठक भर्चुअल माध्यम zoom मार्फत भाद्र २१ गते सम्पन्न भएको छ । विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

महाधिवेशनको प्रचारात्मक नारा तय

१) नेपाली कांग्रेसको १४ महाधिवेशनको प्रचारात्मक नारा
“कांग्रेसमा उत्साह, एकता, रुपान्तरण
सफल बनाऔं १४ औं महाधिवेशन” तय गरिएको छ ।

नीति र विचार केन्द्रित प्रचार कार्यक्रमबारे

२) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको “चिन्तन चौधौं महाधिवेशन” कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिनेछन् ।

३) ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएका छन् । कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने छ ।

NC WIN गठन, आचारसंहिता पारित

४) प्रविधि मैत्री कांग्रेस अभियान निरन्तरता क्रममा NC WIN (Nepali Congress Wide Information Network) गठन गरिएको छ । पार्टीको प्रविधि सम्बन्धि र सामाजिक संजाल समन्वय सम्बन्धि कार्यमा सरिक साथीहरू संगठित गर्दै NC WIN निम्न दायित्व केन्द्रित रहनेछ ।
* तत्कालीन काम – पार्टीको १४ औं महाधिवेशनको प्रचार
* अल्पकालीन काम – स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने ।
* दीर्घकालीन काम – पार्टीको विभिन्न तहलाई प्रविधि मार्फतको सहजीकरण र सामाजिक संजाल मार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहने ।

५) विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उपसमितिका संयोजक ई. दिपेश विष्टको संयोजकत्वमा NC WIN को २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।

६ ) बैठकले NC WIN संरचनाका लागि कार्यविधि र आचारसंहिता निर्माण गरेर पारित गरेको छ ।

बधाई र सम्मान ज्ञापन कार्यक्रम

७) नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभाग गठन पश्चात् विभिन्न समयमा गठित उपसमिति एवं कार्यदलका संयोजक र सदस्यहरुलाई बधाई तथा सम्मान ज्ञापन पत्र प्रदान गर्न महाधिवेशन पूर्व काठमाडांैमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्ने निश्चित गरिएको छ । सचिव दिनेश थापा मगरलाई यस सम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

धन्यवाद ज्ञापन र अपील

८) विभागका सदस्य रामचन्द्र घिमिरेको संयोजकत्वमा गठित “नेपाली कांग्रेसको नेतृत्वमा हासिल उपलब्धि अध्ययन कार्यदल” ले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै बैठकले संयोजक र कार्यदल सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

९) उत्साह, एकता र रुपान्तरणको भावना अनुरुप महाधिवेशनको महायज्ञमा सरिक हुन देशभरको पार्टी पंक्तिलाई अपील गर्ने निर्णय बैठकले गरेको छ । कोरोना महामारीबाट जोगिन भौतिक दुरि र अनिवार्य मास्क लगाउन आग्रह सहित बैठकले ‘मास्क लगाऔं न ! ल !’ अपील पनि गरेको छ ।
जय नेपाल !
दिनेश थापा मगर
सचिव
सूचना, सञ्चार तथा प्रचार विभाग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !