२ जेष्ठ २०८१, बुधबार

दार्चुला घटनाको विरोध गर्दै नेपालनिकट विद्यार्थीले जलाए मोदीको पुत्ला


मोदीको पुत्ला

काठमाडौँ । दार्चुला घटनाको विरोधमा माधव कुमार नेपालनिकट नेकपा (एकीकृत समाजवादी) का विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

काठमाडौको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गर्दै मोदीको पुत्ला जलाएका हुन् ।

सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘जयसिंह धामीलाई न्याय दे’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

गत साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका– २ का धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार काटिदिँदा नदीमा खसेर वेपत्ता भएका थिए ।

सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय पक्षको संलग्नता सो घटनामा रहेको ठहर गरेको थियो । तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !