१७ असार २०८१, सोमबार

कांग्रेसमा देउवाको विकल्प खोज्न साझा उम्मेदवार उठाउने रणनीतिमा संस्थापन इतरपक्ष


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विकल्प खोज्न एउटै उम्मेदवार उठाउने गरी संस्थापन इतर रामचन्द्र पौडेल पक्षले रणनीति अघि बढाएको छ ।

आगामी महाधिवेशनमा काँग्रेसमा संस्थापन देउवाबाहेक धेरै आकांक्षी देखिएका छन् । यसअघि कोइराला परिवारमा मात्र बिपी कोइराला पुत्र ड़ा. शशांक कोइराला, गिरिजा प्रसाद कोइराला पुत्री सुजाता कोइराला र नोना कोइराला पुत्र डा. शेखर कोइराला गरी तीनै जनाले सभापतिमा उठ्ने दावी गर्दै आएका थिए ।

यस्तै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका साथै गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधि पनि आगामी काँग्रेस महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै आएका छन् ।

यसरी काँग्रेसमा संस्थापन इतरपक्षका धेरै जना सभापतिमा उठेमा फेरि पनि देउवाको पल्लाभारी भई पुन: देउवा नै सभापतिमा निर्वाचित हुने संकेत देखेपछि संस्थापन इतरपक्षका नेताहरुले एउटै मात्र उम्मेदवार उठाएर देउवालाई चुनौती दिन छुट्टै रणनीतिका साथ अघि बढ्ने तयारी गरेका हुन् ।

कांग्रेसको पौडेल-कोइराला टिमका सभापतिका आकांक्षीहरुले सामूहिक छलफल गरेका छन् । पहिला साझा उमेदवारका खोजीका लागि भन्दै आकांक्षीहरु नै बस्दै आएपनि आज सोमबार भने इमान्दार कार्यकर्ता जोगाउने कुरा पनि सँगै अघि बढाउनुपर्ने विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको हो । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।

आज भएको बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरू सहभागी थिए । नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति नजिक पुगेको बैठकमा सहभागी एक नेताले बताए ।

​ती नेताका अनुसार आगामी महाधिवेशनमा जसलाई उठाउँदा देउवालाई जित्न सकिन्छ, उसैलाई एकल उम्मेदवार बनाउने नेताहरूबीच सहमति नजिक पुगेको बताउदै अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा निर्णायक छलफल गरेर यसबारे टुङ्गो लगाइने उनले बताए ।

क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि निष्कर्ष निकालेको छ । संस्थापन पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेकोमा चनाखो हुनुपर्ने बैठकले निष्कर्ष निकालेको हो ।

देउवाको विकल्पमा सबैभन्दा उपयुक्त उम्मेदवार आफूलाई दाबी गर्ने गरेपनि सोमबार भने इमान्दार कार्यकर्ता जोगाउँदै उम्मेदवारी छिट्टै टुंगो लगाउने प्रयास गरिएको छलफलमा सहभागी एक नेताले बताए । क्रियाशीलको विषय टुंगिएपछि सो समूहवाट साझा उम्मेदवारको खोजी गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !