१५ आश्विन २०८१, मंगलबार

आयात र खरिद मात्रै हुनु दुखद हो, त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ : मन्त्री खनाल


Chakra-Pani-khanal

६ चैत, काठमाण्डौ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए । “राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ ।” खनालले भने ।

मन्त्री खनालले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिनेसमेत दाबी गरे । कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाई छ । त्यसैगरी सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनले बताए ।

अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताए ।

अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए ।

“आयात र खरिद मात्रै हुनु दुखद हो । त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ ।” खनालले भने । यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उनले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताए ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ । कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !