११ आश्विन २०८१, शुक्रबार

माधव नेपालले भने- ओली सच्चिएर आए चुनावमा तालमेल हुन सक्छ


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल निर्माणमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज मंगलबार काठमाडौंमा जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नयाँ दल दर्ता गर्ने संकेत गरेका हुन् ।

अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।

उनले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताउदै एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको स्पष्ट पारेका छन् ।

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए ।

उनले ओलीसँग एकताको अन्तिम प्रयास गर्छु भनेर घनश्याम भुसालले आग्रह गरेको र सोहीअनुसार वार्ताका लागि पठाउनुअघि नै ओलीले आफूहरुलाई कारवाही गरेको बताए ।

आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताउदै सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएकोले आफूले सहमति दिएको उनले सुनाए ।

नेता नेपालले अब पार्टीलाई पुनर्गठन गर्ने बताए । उनले ओलीले गल्ती स्वीकार गरेर आए जहिले पनि एकताको ढोका खुला हुनेछ नभए चुनावमा तालमेल पनि हुन सक्ने तर सच्चिएर आउनुपर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !