काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा हिजो आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका हुन् ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिङ्गो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याए । उनले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने धारणा राखे ।
“सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौँ” उनले भने, “एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिन्छ ।”
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीरमर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको भनाइ राखे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गणेश साहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताए । उनले पुष्पलाल श्रेष्ठ हुँदा नेपालमा एउटै कम्युनिष्ट पार्टी भएको भन्दै साँचो अर्थमा पुष्पलाललाई आदर गर्ने हो भने एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले विचार र सिद्धान्तभन्दा व्यक्तिगत कारणले कम्युनिष्टबीच बेमेल भएको बताए । उनले अहिले छरिएर रहेका कम्युनिष्टबीच एकता गर्नसके पुष्पलाल प्रति सम्मान हुने उल्लेख गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए । उनले कम्युनिष्ट पटकपटक सरकारमा पुगे पनि जनताको अवस्था फेर्न नसकेको बताए ।
कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनका कमीकमजोरीबारे छलफल गर्नुपर्ने बताइन् । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउन सकिने धारणा राखे ।