काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले सात मन्त्री र एक राज्यमन्त्री माग गरेको छ। स्रोतका अनुसार यादव समूहले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ ।
स्रोतका अनुसार संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना र १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए । देउवालाई प्रधानमन्त्री बनाएपछि पाँच जना सांसदले महन्थ ठाकुर पक्ष छाडेका छन् ।
स्रोतका अनुसार सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले ठाकुर पक्ष छाडेर यादव पक्षमा लागेका छन् । अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना पुग्ने यादव पक्षका सांसद मोहम्मद इस्तियाक राई बताउँछन् ।
जसपालाई ६ मन्त्रालय दिने एक नेताले जानकारी दिए। स्रोतका अनुसार जसपावाट उपेन्द्र यादव पक्ष उपप्रधानमन्त्री बन्ने पक्का भएको छ। जसपावाट उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय प्रसाद यादव, मोहम्मद इस्यियाक राई, डा सूर्यनाथ यादव र डा सुरेन्द्र यादव मन्त्री बन्ने पक्का भएको छ।