काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
राष्ट्रपति कार्यालय विशेष स्रोतका अनुसार हिजो सोमबार अपरान्ह सर्वोच्चको फैसला राष्ट्रपति कार्यालयमा आइपुगेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।
अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् । देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन् ।
राष्ट्रपति कार्यालयको तयारीबारे जानकारी पाएपछि देउवाले आज मंगलबारै सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो मन्त्रिपरिषद् बन्नेछ ।