२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आज सभामुखका वकिलको बहस शुरु


संवैधानिक इजलास फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका वकिलले बहस शुरु भएको छ । अब बहसका लागि बाँकी रहेको ७ घण्टामध्ये सभामुख सापकोटाका कानून व्यवसायीलाई बहस गर्न २ घण्टा छुट्याइएको छ ।

सभामुखको तर्फबाट आज वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

अहिले सभामुखको तर्फवाट बहस शुरु गरेका अधिवक्ता मेघराज पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ । पोखरेलपछि श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा चलिरहेको बहस जारी रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ । अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गरेपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ ।

जवाफी बहसका लागि छुट्याइएको ३ घण्टा समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् । आज सभामुखका वकिलको बहस सकिएलगत्तै जवाफी बहस सुरु हुने प्रवल सम्भावना रहेको छ ।

अन्तिममा एमिकस क्युरी (अदालतका सहयोगी) ले बहस गर्नेछन् । जवाफी बहसपछि एमिकस क्यूरीको तर्फबाट नेपाल बार र सर्वोच्च बारका २/२ जना गरी ४ जना कानून व्यवसायीले आफ्नो राय प्रस्तुत गर्नेछन् ।

एमिकस क्यूरीमा नेपाल बारको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् भने सर्वोच्च बारको तर्फबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । सोमबारसम्ममा बहस सकिएपछि अदालतले विघटनको विषयमा निर्णय दिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !