६ जेष्ठ २०८१, आइतबार

सबै नेपाली नागरिकलाई चाँडो कोरोना खोपको व्यवस्था गर्न राष्ट्रपतिकाे निर्देशन


विद्यादेवी भण्डारी र शेरबहादुर तामाङ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवै नेपाली जनताको जीवनरक्षाका लागि चाँडो कोरोना खोपको व्यवस्था गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीको पछिल्लो अवस्थाको रोकथाम र नियन्त्रणका लागि भइरहेको कामबारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारले लागू गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी लिदै कोरोना खोप अभियानलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् ।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री शेरबहादुर तामाङ लगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर अहिले कोभिड-१९ सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिएकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड-१९ सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । उनले आगामी दिनमा कोभिड-१९ को सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्ने, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिइन् ।

यस्तै बहुक्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धि गर्न तथा विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धानमा जोड दिन राष्ट्रपतिले आग्रह गरिन् । उनले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउनुपर्नेमा पनि जोड दिइन् ।

यसैगरी स्वास्थ्य तथा वातावरण सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रक्रिया शुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिँदै काठमाडौँमा ३०० शैया र प्रदेशहरूमा ५० र ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु