१३ असार २०८१, बिहिबार

काँग्रेसका नेता एवं पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन


तप्तबहादुर विष्ट

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट निधन भएको छ । नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति समेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ५ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिष्टको भेन्टिलेटरमा उपचार भई रहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएतापनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत-३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको निधनको खबरले आफू दु:खी भएको उल्लेख गरेका छन् । आज आइतवार बिहान सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्,‘उहाँको निधनको खबरले म निकै दु:खी छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !