१२ असार २०८१, बुधबार

आधिकारिकता दावी गर्न उपेन्द्र यादव पुगे निर्वाचन आयोग


उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत निर्वाचन आयोग गएका हुन् ।

यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले भने जसपाको दुवै पक्षले एकले अर्कोलाई गरेको निस्कानलाई खारेज गर्दै दुई अध्यक्ष रहेन गरी साविककै पदाधिकारी कायम रहने फैसला सुनाएको थियो । आयोगको उक्त निर्णयबाट आयोगको तटस्थता र निस्पक्षता गम्भीर प्रश्न उठेको यादव पक्षले जनाएको छ ।

आयोगको निर्णयविरुद्ध अदालत जाने कि निर्वाचन आयोग जाने भन्ने विषयमा टुंगो लगाउन बिहीबार कार्यकारिणीको बैठक बोलाइएको थियो। अदालत जाँदा प्रक्रिया लामो हुने र फैसला गर्न समय लम्बिने भएकाले एकपटक फेरि आयोगमा जाने सुझाव धेरैजसो कार्यकारिणी समितिका सदस्यहरूले दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !