काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षवाट सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो ।
बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पास गर्ने समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।