७ मंसिर २०८१, शुक्रबार

नारायणकाजीको आरोप : निर्वाचन आयोग सरकारको कठपुतली भयो


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै उनले निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका हुन् ।

उनले संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको उनले टिप्पणी समेत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको उनले बताउदै नेकपाको बारेमा पनि यस्तै गरिएको थियो भन्दै अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो भनेका छन् ।

निर्वाचन आयोगले जसपाको दुबै पक्षको कारबाही कानुन अनुसार नभएको भन्दै दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेर पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएपछि श्रेष्ठको यस्तो प्रतिक्रिया बाहिर आएको हो । जसपाका दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आइतबार फैसला सुनाएको थियो ।

उनले लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !