७ मंसिर २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनको सपोर्टमा उपचार जारी


झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उनको उपचार जारी रहेको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता खनाल अस्पतालमा भर्ना भएको जानकारी दिएको छ । उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !