६ जेष्ठ २०८१, आइतबार

ओली सरकारमा सहभागी जसपा मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे सातदिने स्पष्टीकरण


उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सरकारमा सहभागी महन्थ ठाकुर पक्षीय मन्त्रीहरुलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । चारबुँदे स्पष्टीकरण पत्रमा सात दिनभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको अन्तरिम विधान २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको २०७८ जेठ ८ गते सम्पन्न भएको बैठकको निर्णयको बुँदा नं. ४ अनुसार केपी शर्मा ओली सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निस्कासन हुने निर्णय भएको स्मरण गराउँदै पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएकाले कारवाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी रहेका छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।

शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !