९ असार २०८१, आइतबार

एमाले मिलेपछि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित


प्रदेश १ को प्रदेशसभा

विराटनगर । एमालेका ओली र नेपाल समूह मिलेपछि प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने अघिल्लो दिन मुख्यमन्त्री राई र माधव नेपाल पक्षीय नेता भिम आचार्यबीच संवाद भएको थियो । आचार्यले पार्टी केन्द्रमा जे भएपनि आफ्नो समूहले सरकारलाई साथ दिने बताएको स्रोतको भनाइ छ ।

उपसभामुख सरस्वती पोखरेलले प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेकी थिइन् । आगामी आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएलगत्तै प्रदेश १ को सरकारलाई बजेट ल्याउने बाटो खुला भएको छ ।

जेठ २७ गते बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार भएको छलफलमा ३२ सांसदले धारणा राखेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए ।

आइतबार मुख्यमन्त्री शेरधन राईले दुई दिनको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनको सम्बोधनपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश १ सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !