काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिने बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
आज आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका थिए ।
चौतर्फी आलोचनापछि सांसद वैद्यले हिजो शनिबार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफूले बोलेका अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी मागेका थिए । आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताएका थिए ।
वैद्यले लिखित आत्मालोचना गर्दै आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका थिए । उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताएका थिए ।
शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका थिए ।