हेटौडा । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्वतन्त्र सङ्ग्रामका महानायक महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका छन् ।
कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादाको ख्याल नै नगरी नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की दिएका हुन् । वैद्यको अभिव्यक्तिमा प्रदेशसभामा कुनै पनि प्रदेशसभा सदस्यले नियमापत्ति समेत गरेनन् ।
उनले ओली प्रवृत्तिले अति गरेको भन्दै कोही न कोही नाथुराम गोड्सेहरु जन्मिन आग्रह गर्दै यदि कोही अघि नसरे आफैँ गोड्से बन्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाएका उनले अब ठेगान लाउनैपर्ने बताएका थिए ।
ओलीलाई नरोके यो देश नरहने दावी वैद्यले गरेक थिए । ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्’, उनले भनेका थिए, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैनन् भने म आफैँ बन्छु।’
सन् १९४८ जनवरी ३० मा नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिए । गोड्से हिन्दु राष्ट्रवादका कट्टरपन्थी रहेका थिए । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो ।
गान्धीको हत्यापछि राष्ट्रिय स्वयंसेवक संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । नाथुराम एक आवारा खालको मान्छे थिए, जसलाई गान्धीको हत्याका लागि भाडामा लिएका थिए ।
प्रदेशसभा सांसदको वैद्यको अभिव्यक्तिलाई लिएर एमाले नेता-कार्यकर्ताले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पनि उनको चर्को आलोचना शुरु भएको छ । भोलि देशको माहोल यहि विषयमा केन्द्रित हुने देखिन्छ ।
यद्यपि देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई हत्या गर्ने अभिव्यक्ति दिने संसदको विषयलाई लिएर आफूलाई मूलधारको भनेर दावी गर्ने मेडियाहरु मुखमा पानी हालेर बसेका छन् ।
देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई संसदीय मर्यादाको समेत ख्याल नगरी सांसदले दिएको अभिव्यक्ति खेदजनक छ । महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमायोग्य छैन । उनलाई हदैसम्मको कारबाही हुन जरुरी छ ।
खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने यो देश खाइदिन्छन्, कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो pic.twitter.com/6yB8t5fquR
— FarakDhar.com (@farakdhar) June 11, 2021
भिडियो सौजन्य : फरकधार डटकम












