१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी : यी हुन् सम्भावित मन्त्रीका आकांक्षीहरु


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएको केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् । आफूसँग रहेका ८ मन्त्रालयमध्ये ७ वटामा मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सहमति जुटेमा प्रधानमन्त्री ओलीले आफूसँग राखेका रक्षा मन्त्रालय बाहेक ७ मन्त्रालयमा सम्भवतः आज आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेका हुन् । पूर्व माओवादी खेमाका नेताहरूले सम्हालेका र शुक्रवार बिदाइ भएका एमाले मन्त्रीहरूले सम्हालेका मन्त्रालय अहिले ओलीले राखेका छन् ।

रक्षा, गृह, सामान्य प्रशासन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्‍चार तथा सूचना प्रविधि, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित ८ मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् ।

बालुवाटार स्रोतका अनुसार एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना छ । आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमालेबाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री एमाले नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता माधव नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोच ओलीको छ । तर अहिलेसम्म संवादले सकारात्मक रुप लिइसकेको छैन ।

मन्त्रीका आकांक्षीको सूची लामो भएकाले को-को मन्त्री बन्ने भन्नेबारे छलफल चलिरहेको स्रोतले बतायो । आज शपथ खानसक्ने प्रवल सम्भावना रहेका ओली समूहका प्रिय नेताहरुमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि रानाको नाम अग्रपंक्तिमा छ ।

स्रोतका अनुसार पूर्व माओवादीको रामबहादुर थापा समूहबाट ३ जनासम्म मन्त्री हुने सम्भावना रहेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बाहेक पूर्वमाओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी समूहबाट पनि मन्त्रीमा समेटिन सक्ने स्रोतले बतायो ।

राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई मन्त्री बनाएर पूर्वमाओवादीको चित्त बुझाउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रीबाट निकालिएका अछामका झपट बोहोरालाई पनि मन्त्री बनाउने तयारी छ ।

भीम रावलको गृहजिल्लाका पूर्वमाओवादी नेता भएकाले भीम रावलको सेखी झार्नकै लागि भए पनि प्रधानमन्त्री ओलीले प्रदेशको मन्त्रीबाट हटेका उनलाई संघीय मन्त्रालयमा ल्याउने तयारी गरेको बुझिएको छ । गृह र सञ्चार मन्त्रालयमा धेरै नेताको दाबी रहेको स्रोतले बतायो ।

मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थालेको बुझिएको छ । प्रदेशसभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएकोमध्ये प्रदेश नं २ की ज्वालाकुमारी साह मन्त्री हुने सम्भावना रहेको छ ।

एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ । यस्तै विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवाली, पार्वती बिसुंखे लगायत महिला नेतृहरू पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् ।

यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्पन्न गरेका एमाले प्रवक्ता प्रदीप ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ । पूर्वमन्त्री गोकुल बाँस्कोटा, कर्ण थापा, राजेन्द्र गौतम, विशाल भट्टराई, यज्ञबहादुर बोगटी, राजबहादुर शाही लगायत मन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !