१२ असार २०८१, बुधबार

मन्त्रिपरिषद् व्यापक हेरफेर : एमालेका ४ जनाबाहेक सबै मन्त्रीहरु पदमुक्त


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् व्यापक रुपमा हेरफेर गरेका छन् । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका हाल मन्त्रिपरिषद्मा रहेका ४ मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।

जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री ओलीले बिष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउने भएका छन् ।

शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए । महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र २ राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !