७ मंसिर २०८१, शुक्रबार

राजेन्द्र महतो बने उपप्रधानमन्त्री, यी हुन् जसपाबाट बन्न लागेका नयाँ मन्त्रीहरु


राजेन्द्र महतो

काठमाडौँ । जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री हुँदैछन् ।

जसपाबाट उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित १० जनालाई आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने तयारी भएको छ । जसपाका एक नेताका अनुसार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आज बालुवाटारमा भएको वार्तामा सरकारमा जाने सहमति भएको बताए ।

यसअघि चर्चामा रहेका राजकिशोर यादव भने मन्त्री नबन्ने भएका छन् । साथै राजकुमार चौधरीको नाम चर्चामा पनि चर्चामा भएपनि उनी राज्यमन्त्री बन्न असफल भएका छन् ।

विमल श्रीवास्तवले खानेपानी मन्त्री तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्री बनाउने तयारी गरिएको थियो । श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् ।

उनीहरूले लो प्रोफाइलको मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार दुवैले शपथ नलिने अडान कायम राखेकाले नेताहरूले मनाउने प्रयासस्वरुप उनीहरुले राम्रा मन्त्रालय पाएका छन् ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय जसपाको ठाकुर पक्षले लिएको बताइएको छ । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिने मन्त्री बनेका छन् ।

यी हुन् जसपवाट बन्न लागेका नयाँ मन्त्रीहरु

१. राजेन्द्र महतो – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री
२. शरदसिंह भण्डारी – ऊर्जा तथा जलस्रोत मन्त्री
३. अनिल झा – खानेपानी तथा सरसफाई मन्त्री
४. लक्ष्मणलाल कर्ण – भूमि व्यवस्था तथा सहकारी मन्त्री
५. बिमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्री
६. उमाशंकर अरगरिया – वन तथा वातावरण मन्त्री
७. चन्दा चौधरी – महिला तथा बालबालिका मन्त्री
८. एकबाल मियां – युवा तथा खेलकूद मन्त्री
९. चन्द्रकान्त चौधरी – ऊर्जा राज्यमन्त्री
१०. रेणुका गुरुङ – महिला, बालबालिका राज्यमन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !