काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएको जसपा ठाकुर स्रोतले जनाएको छ ।
आज बिहीवार दिउँसो साढे २ बजेदेखि छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएका बेला नेताहरू बालुवाटार पुगेका हुन् । जसपाको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेको छ ।
सत्ता समीकरणको विषयलाई लिएर जसपा विभाजनको संघारमा छ । मंगलबार मात्र अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए भने त्यसलाई ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए ।