१२ आश्विन २०८१, शनिबार

एमालेको बहुप्रतिक्षित स्थायी कमिटी बैठक आज बस्दै


स्थायी कमिटीको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजेको लागि स्थायी कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले हिजो ४ बजे बस्ने भनिएको बैठक आज बस्ने गरी अचानक स्थगित भएको थियो ।

आज बस्ने भनिएको बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

अस्ति मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो । माधव नेपाल, भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने एमाले नेताहरुले निष्कर्ष निकालेका छन् ।

अस्ति मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेकपा एमालेले अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

अस्ति बसेको बैठकमा पार्टी एकता बचाउन भई रहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !