काठमाडाैं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले माधव नेपालले एमालेको सीता खाँदै देउवाको गीता गाएको टिप्पणी गरेका छन् । यस्तै बस्नेतले नेपाल समूहका नेताहरुको राजनीति जीवन समेत सकिएकाे बताएका छन् ।
युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता बस्नेतले भने – ‘माधवकुमार नेपालहरू कहीँ पुग्नु सक्नुहुँदैन, उहाँहरुकाे पथ भ्रष्ट भइसक्याे ।’ माधवसहित उहाँकाे गुटका नेताहरू एमालेको सिता खाएर शेरबहादुर देउवाको गीता गाउन थालिरहेका उनले बताए ।
बस्नेतले भने, ‘एमाले र जसपाका सांसद्हरुसँग २ वटा विकल्प छ, कि उहाँहरुले ४० प्रतिशत पूरा गरी दल विभाजन गरेर देउवालाई प्रधानमन्त्री बनाउने हिम्मत राख्नुपर्छ, एमाले र जसपासँगकाे आबद्धता ताेडेर देउवालाई प्रधामन्त्री बनाउने अभियानमा लाग्नुपर्छ, हाेइन भने यतातिर एमालेकाे सीता खाने अनि देउवाकाे गीता गाउँदै नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई शेरबहादुर देउवाकाे पाउमा चढाउने काम गर्नुभएकाे छ इतिहासले कहिले माफी दिने वालाछैन ।’
उनले थप्दै भने, ‘हिजाे प्रतिगमन सकियाे भनेर राजाकाे शीरमा दाम चढाउदै प्रधानमन्त्रीकाे आवेदन दिन जानुभयाे, आज प्रतिगमन सक्कियाे भन्ने प्रतिगमन २ भन्दै कुन नाकले आउनु भएकाे छ ? हिजाे लाेकतन्त्रलाई दरबारमा बुझाउने र देशलाई जनप्रतिनिधिबिहीन बनाउने, मनमाेहन सरकार ढाल्न विभिन्न काण्ड गरेका देउवाहरु अहिले नयाँ अवतारमा आउन खाेज्दैछन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना गर्नेहरु भाेलि गल्ती भयाे भन्दै आउने उनले बताए । कुनैपनि कुरा तुलनात्मक रुपमा व्याख्या गरिने भन्दै उनले भने, ‘हिजाे कांग्रेसकाे सरकार र आज एमालेकाे सरकार के मानेमा राम्राे के मानेमा नराम्राे,हिजाे देउवाकाे कार्याकाल र आज केपी ओलीकाे कार्याकाल के मानेमा राम्राे के मानेमा नराम्राे ?’
आज केपी ओलीका कारण एमाले मात्र नभएर सबै पक्ष बलियाे भएकाे उनले बताए । ‘आज हामी गाैरवका साथ भन्छाैं, आज केपी ओलीका कारणले हाम्रा सीमानाहरु सुरक्षित भएका छन्, चीन र भारतसँगका ७ वटा नाकाहरु बन्दै छन्, रेलमार्ग र सुरुङ मार्ग बन्दै छन्, लिपुलेक फिर्ता हुँदैछ, भारतसँगकाे सम्बन्ध राम्राे बन्दै छ, केपी ओलीकै कारण सी चिनफिङ, नरेन्द्र माेदी जस्ता नेता नेपाल भ्रमण गर्ने अवस्था बनेकाे छ, अन्तराष्ट्रिय मञ्चमा राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फर्स्ट बेञ्चर बन्न थालेको छ, हिजो ब्याक बेञ्चर थियो, जी-७ काे बैठकमा केपी ओलीलाई आमन्त्रण गरिन्छ’- बस्नेतले भने ।
राष्ट्रियता र विकासवादी नेता भएका कारण विश्व समुदायले केपी ओलीलाई चिन्ने स्थिति बनेकाे उनले बताए । सामाजिक सञ्जालमा एमाले र केपी ओलीविरुद्ध भ्रम फिँजाइएको भन्दै उनले त्यस्ता तत्त्वहरूलाई युवा संघ नेपालले साइबर सेना बनाएर तह लगाउनुपर्ने बताए । यसमा सरकारकाे संरचना आवश्यक नरहेकाे उनले बताए ।