१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठकको निर्णय : जेठ ९ गते संसद अधिवेशन आह्वान गर्ने, प्रधानमन्त्रीले विश्‍वासको मत नलिने


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । नेपाल सरकारले जेठ ९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री औलीले विश्‍वासको मत लिने आफ्‍नो चाहना नरहेको बताएका हुन् ।

संविधानको धारा ७६ (३) बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले ७६ (४) बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।

प्रधानमन्त्री ‘फास्ट ट्रयाक’ बाट अर्को प्रक्रियामा जाने मुडमा देखिएको एक मन्त्रीले बताए । ओलीले विश्‍वासको मत नलिने र ७६ (५) को सरकार गठनको आह्वान गर्न मार्ग प्रशस्त गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।

अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेश दावी गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था भएतापनि आधार पेश नभएमा नयाँ सरकार बन्न नसकी संसद स्वतः भंग भएर केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !