काठमाडौं । अन्तत: नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी ओली समूह र वरिष्ठ नेता माधव नेपाल दुवै समूहको ५/५ जना गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।
आज प्रधानमन्त्री समेत रहेका ओली र नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘वान टू वान’ वार्ताले दुबै तर्फबाट ५/५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।
वार्ता टोलीमा ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
बैठकपछि नेता नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन् । गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ गतेलाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।
नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ ।
अस्ति बैशाख ३१ गते शुक्रबार एमालेका अध्यक्ष ओली र नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पौने ३ घण्टा वार्ता भएको थियो । एमालेका दुई समूहको सो वार्तामा अध्यक्ष ओली पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएसंगै वार्ता सकारात्मक ढंगले टुंगिएको थियो ।
पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको थियो । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा ओली र नेपालबीच भेटवार्ता जारी रहँदै आएको छ ।