१५ असार २०८१, शनिबार

बाबुरामको प्रष्टीकरण : मैले प्रधानमन्त्री ओलीलाई भेटेकै हुँ


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको प्रष्टीकरण दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले आफूले ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेको स्पष्ट पारेका छन् । तर ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनी गोप्य राखेको उनको भनाई रहेको छ ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र एमाले नेता एवं सांसद महेश बस्नेतले केहि समयअघि एक टेलिभिजन अन्तर्वार्ता दिंदै डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको खुलासा गरेका थिए । बस्नेतले यस्तो अभिव्यक्ति दिएपछि भट्टराईको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

गत बैशाख २९ गते बुधबार ट्वीटरमा लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका थिए । उनले घुमाउरो तरिकाले आफ्नो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

उनले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !