काठमाडौं । अन्तत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालको कुरा मिलेर सहमति नजिक पुगेका छन् । आज ओली र नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता भएको थियो ।
दुई नेताहरु सहमति नजिक पुगेसंगै नेपाल समूहका सांसदहरुले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा २/४ दिनको लागि टरेको बताउदै पार्टीको आन्तरिक विवाद कार्यदल बनाएर समाधान गरिने प्रष्ट पारेका छन् ।
करिब ४ घण्टा ओली र नेपालवीच फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने र मिल्ने दिशामा अगाडि बढ्ने बारेमा छलफल भएको छ ।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।
नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।