९ मंसिर २०८१, आइतबार

महन्थको बढ्यो सक्रियता : आफ्नो पक्षका सांसदलाई पुर्‍याए भक्तपुरको रिसोर्टमा


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ । स्रोतका अनुसार सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो ।

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्‍याएका हुन् । यसअघि पनि ठाकुरले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।

सांसदहरूलाई रिसाेर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महताे पनि साथमै रहेका छन् । जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेपनि ठाकुरले १७ जना सांसदमध्ये १३ जना सांसदलाई मात्रै रिसाेर्टमा भेला गराउन सकेका हुन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !