१२ आश्विन २०८१, शनिबार

बाबुरामले घुमाउरो तरिकाले गरे महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव


महन्थ ठाकुर र डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले घुमाउरो तरिकाले आफ्नो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बुधबार बिहान लेख्दै भट्टराईले देशको वर्तमान राजनीतिक संकट समाधान गर्न चार वटा प्रस्ताव प्रस्तुत गर्दै वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् ।

डा. भट्टराईले यो ट्वीटले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गर्दै नयाँ प्रधानमन्त्रीमा ठाकुरको प्रस्तावको संकेत गरेका छन् । यसले गर्दा काँग्रेसमा हलचल मच्चिएको छ भने जसपामा पार्टी एकताको सन्देश छाएको छ ।

यो प्रस्ताव अघि सार्दा ठाकुर-महतो पक्ष समेत सहमतिमा आउन सक्ने भट्टराईको ठहर रहेको छ । आफ्नै पार्टीको प्रधानमन्त्री भएमा रेशम चौधरी लगायत जसपाका जेलमा रहेका सवैलाई छुटाउन सकिने र अन्य लाभ लिन सकिनेमा ठाकुर-महतो कन्भिन्स गराउन सकिने भट्टराई ठम्याई रहेको विश्लेषण गर्न सकिन्छ ।

डा. भट्टराईको यस प्रस्तावले केपी ओलीलाई सत्तावाट हटाएर जसपाले सरकारको नेतृत्व लिने र विभाजनवाट पनि जोगिने उनको चलाखीपूर्ण रणनीति हो । बाबुरामको यो प्रस्तावलाई जसपाको राजनीतिक भविष्यसँग जोडेर विश्लेषण गर्दै भन्न सकिन्छ – ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ नीतिको अख्तियार ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको बेला भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री वाहेककाको राष्ट्रिय सरकार बनाउन भन्नुको अर्थ देउवालाई अस्वीकार गर्नुले जसपा र काँग्रेसमा अर्थपूर्ण रुपमा लिइएको छ ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुरा र राजेन्द्र महतो ओली सरकारकै निरन्तरता चाहेर नयाँ सरकार गठनको विपक्षमा छन् भने यादव र डा. भट्टराई नयाँ सरकार गठनको पक्षमा देखिएका छन् ।

डा. भट्टराईको यो ट्वीटको बहुआयमिक अर्थ लगाउन सकिन्छ । उनले एकातिर देउवा नेतृत्वमा सरकार गठन गर्न अस्वीकार गरेका छन् भने अर्कोतिर आफ्नै पार्टी जसपाको ठाकुर-महतो पक्षलाई खुसी बनाएर पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध पार्दै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !