१७ असार २०८१, सोमबार

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आज साँझ ५ बजे बस्ने भएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ ।

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकका एजेण्डा पनि खुलाइएको छैन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेमा आज शनिबार आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइनुलाई विशेष चासोका साथ हेरिएको छ ।

एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद्को बैठक बोलाएकोले कुनै महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका बेला विपक्षी कांग्रेस, माओवादी र जसपा लगायतका दलहरुले गठबन्धन बनाउने तयारी गरेका छन् । एमालेमा माधव कुमार नेपाल पक्षका नेताहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने ? भन्ने विषयमा छलफलमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !